एनआरएनए इंग्ल्याण्डले भर्चुअल दौड गर्दै
लन्डन । गैरआवासीय नेपाली संघ राज्य समन्वय परिषद इंग्ल्याण्डले भर्चुअल दौड गर्ने भएको छ । ‘स्वास्थ्य नै धन हो’ भन्ने सन्देशकासाथ विश्वभरी छरिएर रहेका नेपाली समुदायलाई तन्दुरुस्त रहनकासाथै स्वस्थ र सक्रिय रहन प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कोरोना महामारीका कारण शारीरिक एवम् मानसिक रुपमा समेत असर परेकाले यसबाट केहि राहत मिल्ने आयोजकको विश्वास छ । यो एउटा भर्चुअल दौड हो, आफ्नो इच्छा अनुसार कुनै पनि समयमा पूरा गर्न सकिनेछ । आफ्नै घर-गार्डेन, सडक, पार्क, जिम, ट्रयाक वा ट्रेडमिलमा समेत दौड पूरा गर्न सकिनेछ ।
कार्यक्रममा www.nrna-escc.org मा गएर अनलाइन माध्यमबाट विश्वभरका मानिसले दर्ता गर्न सक्नेछन् । सन् २०२२ जनवरी १ देखि ३० सम्म एक महिनाका लागि रजिस्ट्रेशन खुला रहनेछ भने फेब्रुअरी १ तारिख २०२२ बाट १५ तारिख भित्र प्रतियोगिता सुरु हुनेछ ।
सोहीदिन भित्र प्रत्येक दिन पांच किलोमिटर दौड पूरा गरि स्मार्ट फोनको फिटबिट, नाइक रन जस्ता एप्लिकेशन प्रयोग गरि प्रमाणस्वरूप स्क्रिनसट वेबसाइट मार्फत पठाउनुपर्नेछ ।
रजिस्ट्रेशन गर्नका लागि १० पाउण्ड शुल्क तिर्नुपर्नेछ । सहभागी सबैलाई मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यसवापत उठेको रकम ५० प्रतिशत कार्यक्रममा खर्च गरिनेछ भने बांकी रकम कम्युनिटी प्रोजेक्ट तथा समस्यामा परेकाहरुलाई सहयोग गर्न खर्च गरिने आयोजक बलराम सुवेदीले जानकारी दिए ।
यसपटक वयस्कहरुमा कार्यक्रम लक्षित गरिएको र यसपछि केटाकेटीका लागि पनि निशुल्क सञ्चालन गरिने योजना रहेको सुवेदीले बताए ।
News Source: https://www.nepalilink.com/2021/12/29/45926.html?fbclid=IwAR3DV1f4LXMXENF5oXWr-_b6HZvG0chj-3bpgbNud6ln3RBt3zZXrQGIQsA